दुर्घटनामा थाहा नगरपालिका १ का वडा सदस्यको मृत्यु
धादिङ । त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधान रहेका छन् ।
गएराति पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल खोलामा खसेर थियो । ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको खानीखोला इलाका प्रहरी कार्यालयले जनाएको छ । ट्रकका चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको जनाइएको छ ।
दुर्घटनामा तीन जनाको मृत्यु
रामेछाप । रामेछापको मन्थली नगरपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज (बिहिबार) मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट अन्दाजी ७०० मिटर तल खसेर दुर्घटना हुँदा ती जनाको मृत्यु भएको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबा र अर्का एक जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीले दुर्घटनामा परी गम्भिर घाइते अवस्थामा उद्धार गरिएका अन्दाजी १२ वर्षका बालक पेम्बा शेर्पाको तामाकोसी अस्पतालमा उपचार भइरहेको छ ।
