मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु, कूल संख्या कति पुग्यो ?
मकवानपुर । मकवानपुरमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । संक्रमणका कारण मनहरी गाउँँपालिकाका थप एक जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानवुरले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ सय ६४ जना पुगेको छ । जसमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ हालसम्म कोरोना संक्रमणबाट १ सय १६ जनाको मृत्यु भएको छ ।
यसैगरी संक्रमणका कारण थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति मृत्यु नभएको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार १७ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ५ सय ५० जना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १४८६ जना कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ६० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७८ हजार ३१२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ३१ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४० हजार ७१७ संक्रमणमुक्त भएका छन् भने १० हजार ९ सय ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
