कांग्रेस मकवानपुरको १०२ वडाबाट १८३४ क्षेत्रीय प्रतिनिधि निर्वाचित
मकवानपुर । नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले गएको भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली उपलब्ध गराएको छ ।
आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरु रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले उपसभापति बिष्णु लामिछाने, प्रवक्ता प्रदिप कोइराला र अन्य पदाधिकारीसमक्ष सो नामावली उपलब्ध गराएको हो ।
नामावली बुझ्दै उपसभापति लामिछानेले निर्वाचित सबैलाई बधाई दिँदै वडा तहको अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गरे ।
कांग्रेस मकवानपुरको १०२ वटा वडाबाट कूल १ हजार ८ सय ३४ जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । जसमध्ये १०२ वडाका सभापति स्वत क्षेत्रीय प्रतिनिधि हुने प्रावधान रहेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडाबाट कूल ४२० जना र थाहा नगरपालिकाका १२ वडाबाट १९८ जना निर्वाचित भएका छन् ।
त्यस्तै ८ वटा गाउँपालिकाका ७१ वटा वडाबाट कूल १ हजार २ सय १६ जना निर्वाचित भएको प्रवक्ता कोइरालाले जानकारी दिए ।
गाउँपालिकाबाट निर्वाचित हुनेहरुमा क्रमश मकवानपुरगढी १३७, राक्सिराङ, १५४, कैलाश, १७९, इन्द्रसरोवर ७८, भीमफेदी १५७, बकैया १९४, बागमती १५४ र मनहरी १६३ जना रहेका छन् ।
कूल नामावलीमा मकवानपुर सभापति, संघीय सभापतिसहित करिब ७ जना क्षेत्रीय प्रतिनिधि थप हुने कांग्रेस मकवानपुरले जनाएको छ ।
