बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार: को–को भए मन्त्री ?
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । केहीबेर अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरी ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरिएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार मन्त्री बन्नेहरुमा सिन्धुलीका प्रदिक कटुवाल, रामेछापको शान्तिप्रसाद पौडेल, काभ्रेका चन्द्र लामा, दोलखाको रचना खड्का र चितवनको विजय सुवदी रहेका छन् ।
त्यस्तै राज्यमन्त्री बन्नेहरुमा मकवानपुरकी जुनेलीमाया श्रेष्ठ, नुवाकोटका बद्री मैनाली, भक्तपुरकी सरस्वती बाटी र काठमाडौँका अजय क्रान्ती शाक्य रहेका छन् ।
उनीहरु मकवानपुर आइसकेका छन् । केही बेरमानै प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीलाई पद र गोपनियताको सपथ गराउने कार्यक्रम तय भएको छ ।
मुख्यमन्त्री शाक्यले यसअघि आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी नुवाकोटका केशवराज पाण्डेलाई सुम्पिएकी थिइन् ।
त्यस्तै चिचवनका कृष्णप्रसाद खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरिएको भएपनि उनले केही दिन अघि पदबाट राजीनामा दिएर माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।
