‘कांग्रेस मकवानपुरको सहसचिव पदमा मेरो उम्मेदवारी रहन्छ’ – नेतृ न्यौपाने

तु खबर संवाददाता
२०७८ भाद्र २२, मंगलवार १८:०१

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । बिगतमा भन्दा यो बर्ष युवा पुस्ताको सक्रियता बढेको छ ।

यसैबीचमा कांग्रेस मकवानपुरकी सदस्य इन्दिरा न्यौपालेले आसन्न जिल्ला अधिवेशनमा सह–सचिव पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

२०५३ सालदेखि कांग्रेस रहेर राजनीतिमा निरन्तर सक्रिय रहँदै आएकी न्यौपाने असोज १० गते हुने जिल्ला तहको निर्वाचनमा सह–सचिव पदमा उम्मेदवारी दिने तयारीमा छिन् ।

२१ बर्षको उमेरमा कांग्रेसको सदस्य भएकी उनले तरुण दल र महिला विभागमा रहेर लामो समय काम गरेको अनुभव बटुलेकी छिन् ।

२०३२ असोज २८ गते महोत्तरी जिल्लामा जन्मिएकी न्यौपानेको बाल्यकाल मधेशमै बित्यो । राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन गरेकी न्यौपानेको बिगत निकै संघर्षपूर्ण छ ।

सर्लाही जिल्लाको हरिपुरस्थित महावीर जनता माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छँदा उनी बैबाहिक जीवनमा बाधिन पुगिन् ।

बिबाहपछि पारिवारिक जिम्मेवारीसंगै राजनीतिक र सामाजिक क्षेत्रमा उत्तीकै सक्रिय रहनु उनको लागि फलामको चिउरा चपाउनुझैँ थियो । तर, समाजमा भएका विकृति विसंगति, महिलामाथि हुने विभिन्न हिंसा र अन्यायपूर्ण गतिविधिको अन्त्य गर्न तथा हरेर क्षेत्रमा महिलाको सहभागिता बृद्धि गर्नुपर्छ भन्ने मान्यताले उनलाई रानीनीतिमा निरन्तर क्रियाशील रहन प्रेरित गरिरह्यो ।

समाज रुपान्तरणका लागि राजनीतिमार्फत केही गर्नुपर्छ भन्ने धारणा बोकेर अघि बढ्दै गर्दा २०५९ सालमा उनी ट्रेड युनियन मकवानपुरको सह–सचिव भइन् ।

२०६१ मा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर ‘कु’ गरेका थिए । त्यतिबेला तानाशाही प्रवृत्ति र निरंकुश राजतन्त्र तथा केन्द्रीकृत शासन व्यवस्थाकाविरुद्ध विभिन्न चरणमा आन्दोलन चर्किएको थियो । सो आन्दोलन र संघर्षका कार्यक्रममा पनि उनी अग्रभागमा थिइन् ।

आन्दोलन चर्काएर तत्कालिन सत्ताको विरोध गरेको आरोपमा उनलाई प्रहरीले गिरफ्तारसमेत गरेको थियो । ‘त्यतिबेला म अग्रभागमा रहेर आन्दोलनमा सहभागि थिएँ । थोरै मात्रै महिला साथीहरुको सहभागिता देखिन्थ्यो । मसंगै अन्य केही साथीहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो । आगामी दिनमा आन्दोलनमा सहभागि नहुने सर्तमा मात्रै रिहाई गर्छौँ भन्दै प्रहरीले काजग गर्न दबाब दिएको थियो । तर, म कुनै कागजी सम्झौता बिना नै हिरासतमुक्त भएँ र आन्दोलनमा पुन सहभागि भएँ ।’ उनले भनिन् ।

‘राजनीतिक दौरानमा धेरै चुनौती आए, बालबच्चा घरमा छाडेर पार्टीका कार्यक्रममा सहभागि हुन कसैलाई पनि सहज हुँदैन । तर, राजनीतिमार्फत जनहितका लागि काम गर्नुपर्छ भन्ने सोचले ती समस्यालाई सामना गर्दै यहाँसम्म आइपुगियो । ’ उनले भनिन् ।

२०६४ मा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय पार्सदको जिम्मेवारीमा रहेर उनले कार्यकुशलता प्रदर्शन गरिन् । ६४ मै उनी पार्टीको महिला विभागको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरिन् ।

२०६७ मा उनले महिला संघ मकवानपुरको सचिवको जिम्मेवारी संहालिन् । हाल उनी पार्टीको जिल्ला सदस्य छिन् ।

राजनीतिसंगै न्यौपानेको संलग्नता सामाजिक क्षेत्रमा पनि उत्तीकै छ । गैरसरकारी संस्था महासंघको २ पटक कोषाध्यक्ष भएर उनले काम गरेकी छिन् । आफु आवद्ध सामाजिक संस्थामार्फत उनले १० हजारभन्दा बढी युवाहरुलाई प्रत्येक्ष/अप्रत्येक्ष रुपमा रोजगारीमा जोड्न सफल भइन् ।

राजनीतिमा महिला सहभागिता बढाउन आवश्यक रहेको उनी बताउँछिन् । आफ्नोे चाहाना कांग्रेस मकवानपुरको कुशल एवम् व्यवस्थित संगठन विस्तार गर्ने, गुट उपगुटको राजनीति अन्त्य गर्दै पार्टी र कार्यकर्ताप्रति इमान्दार नेतृत्व चयन गर्ने भएको उनी बताउँछिन् । यीनै विषयलाई आधार बनाएर आफ्नो खुल्ला सचिव पदमा उम्मेदवारी रहने उनको भनाई छ ।

पार्टी वा संगठनमा ‘मनोनित’ वा ‘कोटा’ प्रणालीबाट एक व्यक्तिले पटकमात्रै अवसर प्राप्त गर्नुपर्छ भन्ने उनको मान्यता छ । महिलालाई कोटा प्रणालीमा राख्ने प्रचलनकोविरुद्ध पनि आफ्नो उम्मेदवारी खुल्ला रुपमा हुने उनले बताइन् ।