कर्रा खोलाले बगाएर बेपत्ता भएका २ जनामध्ये एक जनाको शव भेटियो

तु खबर संवाददाता
२०७८ भाद्र १९, शनिबार १८:४७
file-photo

मकवानपुर । कर्रा खोलाले बगाएर बेपत्ता भएका २ जनामध्ये एक जनाको शव शनिवार फेला परेको छ ।

घटनास्थलबाट करिब २ सय मिटर तल खोलामा एक जनाको शव भेटिएको भएपनि उनको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अर्का एक जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुई जनालाई बगाएको थियो ।

खोलाले ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापा मगरलाई बगाएको थियो । पानीको बहाव घटेसँगै ट्रक करिब १०० मिटर पर फेला परेको थियो । प्रहरी र सेनाको टोलीले खोजि कार्य गरेको थियो।