‘मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अब केही दिन मात्रै’

तु खबर संवाददाता
२०७८ भाद्र १७, बिहीबार ०८:४२

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारको आयु अब केही दिन मात्रै रहेको बताएका छन् ।

नेता बानियाँले बुधबार साँझ नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार २ साता नपुग्दै अल्पमतमा परेकोले यो सरकारको आयु अब केही दिन मात्र बाँकी रहेको बताएका हुन् ।

नेता बानियाँले बागमती प्रदेशमा छिट्टै गठबन्धनको सरकार गठन हुने बताए । सरकारको नेतृत्व काँग्रेस, नेकपा एकीकृत समाजवादी वा नेकपा माओवादीमध्ये कुनै एक दलले गर्ने कुरा निश्चित रहेकाले गठबन्धनको सहमति र सहकार्यले नै यसको निर्णय गर्ने उनको भनाई छ ।

साथै उनले केन्द्रीय तहमा बनेको गठबन्धनले सरकारको नेतृत्व छनौट गर्ने भएकाले तत्काल आफुले मुख्यमन्त्रीमा दावी गर्ने अवस्था नरहेको बताए ।

नेता बानियाँले मुख्यमन्त्रीमा नेकपा समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि मिडियामा आए जस्तो दावी नगर्नेमा आफु विश्वस्त रहेको बताए ।