नयाँ शक्तिको वडा नम्बर ४ मा घरदैलो
हेटौँडा, २९ कात्तिक । नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ आसपासमा घरदैलो गरेको छ ।
हेटौँडाको गर्दोई,चिसापानी हुँदै कर्रा लगायतका क्षेत्रमा चुनावी प्रचारप्रसारसहित घरदैलो कार्यक्रमको आयोजना गरिएको मैनालीले जानकारी दिए । घरदैलो अभियानको नेतृत्व कार्यकारी समिति सदस्य गोबिन्द पुडासैनी, नेपाल समाजवादी ट्रेड युनियन महासंघ,नेपाल समाजवादी ई–अटो सफारी मजदुर संघका अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष सुधीर थापा, राष्ट्रिय युवा अभियान मकवानपुरका अध्यक्ष सुदिप कार्की, महिला संघका अध्यक्ष पुनम खतिवडा लगायतले गरेका थिए ।
घरदैलो अभियानमा नगरवासीका गुनासाहरु सुन्दै घरदैलो कार्यक्रम कर्रा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार मैनालीले समाज र विशेष गरि युवाहरुलाई उत्पादन तथा स्वरोजगार अभियानमा परिचालन गर्ने वातावरण बनाउन सधैँ लाग्नुपर्ने बताए । उनले नेपालको विकासको लागि छिमेकी मुलुकहरुबाट पनि समभाव राखेर फाईदा लिन जरुरी रहेको औँल्याए ।
कार्यक्रममा पुनम भट्टराई, सुलोचना घिमिरे, राजकुमार थापा, युवा नेता तुफान विक्रम क्षेत्री लगायतले मन्तव्य राखेका थिए ।



