‘बागमती सरकारको नेतृत्वमा नेकपा एकिकृत समाजवादी हुन्छ, मुख्यमन्त्री म बन्छु’

तु खबर संवाददाता
२०७८ भाद्र १५, मंगलवार १८:५६

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले दावी प्रस्तुत गर्ने भएका छन् ।

उनले नेकपा एकिकृत समाजवादीको नेतृत्वमा प्रदेशमा नयाँ सरकार गठन हुने बताए ।

आफुलाई पार्टीले अघि सारेको भन्दै आफु सबैको सहमतिमा मुख्यमन्त्री बन्ने उनको भनाई छ ।

नेकपा एमालेका १२ जना सांसदले प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि हालै नियुक्त भएकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् ।

बागमती प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व संहाल्दै आएकी नेतृ शाक्य एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी थिइन् । उनलाई एमालेको ५६ सांसदको साथ थियो । तर, अब त्यो संख्या घटेर ४४ मात्रै कायम भएकाले शाक्यले विश्वासको मत लिनुपर्ने भएको छ ।

शाक्य अल्पमतमा परेसंगै एकिकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दावी गरेका हुन् । केन्द्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच गठबन्धन बनेको छ ।

सोही गठबन्धनलाई ध्यानमा राखेर केन्द्रदेखि प्रदेशसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको र बागमती प्रदेशको नेतृत्व एकिकृत समाजवादीको भागमा परेको सांसद पाण्डेले बताए ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए । एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।

तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बनेको थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।