मकवानपुरका १५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सर्नट्रेटर
मकवानपुर । माउन्टेन हार्ट नेपाल र हेटौंडा–६ नम्वर वडा कार्यालयको संयुक्त आयोजनामा मकवानपुरका १५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सर्नट्रेटर एवम् स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
सोमबार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता तथा हेटौंडा–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको अध्यक्षतामा अक्सिजन कन्सर्नट्रेटर एवम् स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
हेटौंडा–६ स्थित निर्माणाधिन सिद्धस्थली ग्रामीण सामुदायिक अस्पताल परिसरमा भएको कार्यक्रममा बकैया गाउँपालिका–३, बागमती गाउँपालिका–२, मकवानपुरगढी गाउँपालिका–७, भीमफेदी गाउँपालिका–७, हेटौंडा उपमहानगाउँपालिका वडा नम्वर ३, ५, ६, ९, १२, १३, १४, १५, १६, १८ र १९ का स्वास्थ्य चौकीलाई अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा करिब ३७ लाख ५० हजार रूपैयाँ बराबरका सामग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष चौलागाईंले जानकारी दिए ।
कार्यक्रममा कांग्रेस नगर अध्यक्ष आनन्दराम पराजुली, सिद्धस्थली अस्पतालका प्रतिनिधि गोमा गौतम, गौतम समाज बागमती प्रदेश अध्यक्ष होमनाथ गौतम, हेटौंडा अस्पताल संचालन एवं व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंलगायत स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
