दुर्घटनामा घाइते हेटौंडाका लामाको मृत्यु

तु खबर संवाददाता
२०७८ भाद्र १५, मंगलवार ०८:०७
सांकेतिक तस्वीर

मकवानपुर । सवारी दुर्घटना परी गम्भीर घाइते भएका हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने मौसम लामाको उपचारको क्रममा मृत्यु भएको छ ।

गत शनिबार हेटौंडा–भैसे सडकखण्डमा स्कुटर र सुमो ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका १७ वर्षीय लामाको सोमबार मृत्यु भएको हो ।

लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, भीमफेदी गाउँपालिका अन्तरगत पर्ने उक्त सडकखण्डमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७९३१ नम्वरको सुमो र विपरित दिशातर्फ आउँदै गरेको प्रदेश ३–०३ प १३१९ नम्वरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर स्कुटरमा सवार मौसम र हेटौंडा–८ कमाने नै बस्ने वर्ष १८ को सुशील लामा घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि चितवन मेडिकल कलेजमा पठाएकोमा मौसमको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, अर्का घाइते सुशीलको भने सोही अस्पतालमा उपचार भइरहेको छ ।