भदौ १५ गतेबाट जिल्ला प्रशासन कार्यालयले नियमित सेवा प्रवाह गर्ने

तु खबर संवाददाता
२०७८ भाद्र १४, सोमबार ०७:४६

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोलि भदौ १५ गतेबाट नियमित सेवा प्रवाह गर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण धेरै भीडभाड नहोस् भन्ने उदेश्यले कार्यालयले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै भोलिबाट नियमित सेवा प्रवाह गर्न लागेको हो ।

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भोलिबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाइएको जनाएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्तिच दिनमा मात्रै प्रदान गर्दै आएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जारी गरेको सूचनामा सेवाग्राहीको बढ्दो चाप र कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा प्रवाहमा लगाईएको आलोपालो व्यवस्था हटाइएको उल्लेख गरिएको छ ।