पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध

तु खबर संवाददाता
२०७८ भाद्र १३, आईतवार ०९:२५
file photo

मकवानपुर । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा हुँदै काठमाडौं जोड्ने छोटो मार्ग सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ थानडाँडामा पहिरो जाँदा हेटौंडा हुँदै काठमाडौं जोड्ने सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार, वर्षाका कारण आज (आइतबार) बिहान सडकमाथिबाट लेदो माटोसहित खसेको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको हो ।

पहिरोका कारण हेटौंडाबाट सिस्नेतरी हुँदै काठमाडौंतर्फ जाने र काठमाडौंबाट हेटौंडातर्फ आउँने सवारीसाधन समस्यामा परेको प्रहरी नायव उपरीक्षक रिमालले बताएका छन् । तर, कुलेखानी–फाखेल हुँदै काठमाडौंतर्फ बाटो भने संचालन रहेको छ ।

पानी नरोकिएको कारण गर्दा पहिरो हटाउन समस्या भएको र पानी रोकिएपछि पहिरो हटाई सवारीसाधन संचालनमा ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।