पहिरोमा परी एकै परिवारका तीन जना बेपत्ता, एक घाइते

तु खबर संवाददाता
२०७८ भाद्र ११, शुक्रबार १४:३५
file-photo

बुटवल । पूर्वी नवलपरासीमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

जिल्लाको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका हुन् भने एक जना घाइते भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार, चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएका हुन् ।

गएरातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले पुलामी घर पुरिएको छ । पहिरोमा परेर घाइते हस्तबहादुरलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको जनाइएको छ ।