मकवानपुरमा विद्यालय संचालनका लागि अध्ययन गर्न समिति गठन
मकवानपुर । मकवानपुरमा बन्द रहेका विद्यालय संचालनका लागि अध्ययन गर्न समिति गठन गरिएको छ ।
बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरको १० वटै स्थानीय तहमा विद्यालय संचालन गर्न अध्ययन समिति गठन गरेको हो ।
बैठकले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा सम्बन्धित स्थानीय तहका शिक्षा शाखा प्रमुख, प्याब्सन/एनप्याब्सनका प्रतिनिधि र बालकल्याण समाज मकवानपुरका प्रतिनिधि सदस्य रहनेछन् ।
समितिले स्थलगत अध्ययन गरी जिल्ला कोभिड संकट व्यवस्थापन समितिमा भदौ १८ गतेभित्र प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा विद्यालय संचालनबारे निर्णय लिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
मकवानपुरमा आज (बिहिबार) राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौ २० गतेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको रोगथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा भदौ २० गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
