पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र ७, सोमबार १६:१८
सांकेतिक तस्बिर

रौतहट । रौतहटबाट पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरज यादव र जितेन्द्र यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले गत साउन ३२ गते पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार, नेपाल पत्रकार महासंघ रौतहटका सह–सचिव सञ्जय शहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको अनुसन्धानबाट खुलेपछि यादवद्वयलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सहसचिव शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर मोजुबुल्लाहलाइ पक्राउ गर्न लगाएका थिए ।

हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो ।

अपराधिक षड्यन्त्र सम्बन्धी कसूरमा पक्राउ परेका उनीहरुमाथि ६ दिन म्याद थप गरिएको र गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको प्रहरीले जनाएको छ ।