जापानबाट ५ लाख ५९ हजारभन्दा बढी डोज एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो
काठमाडौं । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ ।
जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको ५ लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप सोमबार काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको थियो। आज अन्तिम चरणमा ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो ।
यसअघि साउन २३ र २४ गते ९ लाख मात्रा र यही भदौ ५ गते २ लाख ८ हजार ७ सय मात्रा खोप नेपाल आएको थियो ।
भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो ।
जापानबाट उपलब्ध भएको खोप प्रदेश १ र २ का ज्येष्ठ नागरिकलाई लगाइने उनले जानकारी दिए । गत फागुनमा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मन्त्रालयले एस्ट्राजेनिका खोप लगाइरहेको छ ।
