नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउन माग गरेका छन् ।
जिल्ला सभापतिहरुको काठमाडौंमा बसेको बैठकमा जिल्ला सभापतिहरुले पार्टीका क्रियाशील सदस्यता वितरण र निष्पक्ष बनाउन माग गर्दै प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवालाई तीन दिनको अल्टिमेटम दिएका छन् ।
जिल्ला सभापतिहरुले आगामी भदौ ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना र अनशन सुरु गर्ने चेतावनीसमेत दिएका छन् ।
सभापतिलाई सम्बोधन गरेर इमेलमार्फत पठाइएको चेतावनी पत्रमा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको, पारदर्शिता नपनाइएको र ७७ वटै जिल्लामा सभापतिहरूको एउटै प्रक्रियाबाट चुनाव हुनुपर्नेमा त्यसो नगरिएको जनाएका छन् ।
जिल्ला सभापतिहरुले बुझाएको पत्रमा ‘वडा तहमा निर्णय भई आएका नाम हटाउने, ठाडै केन्द्रबाट जथाभावी नाम थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नाम इन्ट्री गर्नेजस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं,’ उल्लेख छ ।
