कांग्रेस हेटौंडा उपमहानगरको वडा सभापतिहरुसंग छलफल

तु खबर संवाददाता
२०७८ भाद्र ५, शनिबार १८:५४

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले आफ्नो कार्यकालको अन्तिम बैठकमा वडासभापतिहरुसंग छलफल, धन्यवाद ज्ञापनका साथै आभार प्रकट गरेको छ ।

हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शनिबार कांग्रेस नगर समितिको सभाहलमा भएको हेटौंडा उपमहानगरका १९ वटै वडासभापति तथा पदाधिकारीहरुको भेलामा नगर समितिले ५ वर्षसम्म साथ र सहयोग गर्ने सम्पूर्ण वडा कमिटिहरुलाई धन्यवाद तथा आभार प्रकट गरेको छ ।

कार्यक्रममा कांग्रेसको आसन्न १४ औं महाधिबेशनमा वडादेखि क्षेत्र जिल्लासम्म कसरी जाने भन्ने विषयमा छलफल तथा सम्पूर्ण वडाका सभापति एवं पदाधिकारीहरुलाई ५ वर्षसम्म साथ र सहयोगको लागि धन्यवाद ज्ञापनको कार्यक्रम भएको कांग्रेस हेटौंडा उपमहानगर समिति कोषाध्यक्ष कविन सांगामीले जानकारी दिए ।

कार्यक्रममा नगर कार्यसमितिले सभापति पराजुलीलाई सफलताका साथ नगर समितिको नेतृत्व गरेको भन्दै मायाको चिनोसमेत दिएको कोषाध्यक्ष सांगामीले जानकारी दिए ।

छलफलमा कांग्रेस मकवानपुरका सहसचिव रामबाबु बानियाँ, क्षेत्रीय सभापति तारानाथ चौलागाई र १९ वटै वडाका सभापति तथा पदाधिकारीहरुले आ–आफ्नो भनाई राखेका थिए ।