कांग्रेस मकवानपुरद्वारा बधाई तथा धन्यवाद ज्ञापन

तु खबर संवाददाता
२०७८ भाद्र ४, शुक्रबार १९:२५

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकोमा बधाई एवम् सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ । साथै सभापती देउवालाई सरकारको नेतृत्वमा पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवादसमेत ज्ञापन गरेको छ ।

कांग्रेस मकवानपुरको हालसालै सम्पन्न बैठकले सभापति देउवालाई सरकारको नेतृत्वमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

सभापति देउवा प्रधानमन्त्री नियुक्त भएसंगै प्रतिगमन र स्वेच्छाचारिताको अन्त्य एवम् लोकतन्त्र र संविधानको रक्षा भएको भन्दै यसका लागि सहयोग गर्ने राजनीतिक दल, नागरिक समाज, पत्रकार र आम जनसमुदायमा कांग्रेस मकवानपुरले धन्यवाद ज्ञापन गरेको हो ।

त्यस्तै कांग्रेस मकवानपुरले आफ्नो साढे ५ बर्षको कार्यकालमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

जिल्लामा पार्टीको सकारात्मक गतिविधिमा साथ दिने नेता तथा कार्यकर्ता, विभिन्न भातृ तथा सुवेच्छुक संगठन, पार्टीका सकारात्मक कामको प्रचार गर्ने र केही कमजोरी हुन पुगेमा समाचारमार्फत् रचनात्मक आलोचना गर्दै बेलैमा सच्याँउन मद्धत गर्ने पत्रकार जगत, नागरिक समाज, प्रशासन तथा सुरक्षा निकाय र आम जनताप्रति कांग्रेसले आभार प्रकट गर्ने निर्णय गरेको प्रवक्ता कोइरालाले बताए ।

कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा पार्टीको आसन्न अधिवेशनबाट सबै तहमा सक्षम र सबल नेतृत्व चयन हुनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस मकवानपुरका सभापति बानियाँले पार्टीका संस्थापक र हालसम्मका सभापतिहरु एवम् पदाधिकारीहरुका कारण आफुहरु यहाँसम्म आइपुगेको बताए ।

पार्टी स्थापना, संगठन विस्तार र पार्टीका एजेण्डा कार्यान्वयन गर्न अग्रजको योगदान रहेको बताउँदै उनले आगामी दिनमा पनि जनताको हितका लागि काग्रेस सदैव लागिपर्ने  बताए ।