बागमती प्रदेश अपडेटः माधव पक्षका सांसद पाण्डे भन्छन् –म प्रतिगमनको मतियार बन्न सक्दिन

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार २०:४९

मकवानपुर । नेकपा एमालेका प्रभावशाली नेता एवम् बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले सत्ताको लोभमा प्रतिगमनकारीहरुसंग कुनै सम्झौता हुन नसक्ने बताएका छन् ।

प्रदेशमा माधव नेपाल पक्षको नेतृत्व सम्हालेकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन लागिएको विषयमा प्रतिक्रिया दिँदै उनले आफु प्रतिगमन र स्वेच्छाचारिताको पक्षधर हुन नसक्ने बताएका हुन् ।

‘पार्टी एकता र सरकार परिवर्तनको विषयमा छलफल गर्न कार्यदल बनाएका थियौँ, सोही कार्यदलमा सहमति भएअनुसार चालु आर्थिक बर्ष २०७८/७९ को बजेट पास गरिएको थियो । सरकार परिवर्तनको विषयमा पनि कार्यदलले छलफल गरिनै रहेको थियो । आज एकाएक अष्टलक्ष्मीजी मुख्यमन्त्री बन्ने खबर सुनेँ । अहिले काठमाडौं छु बाँकी कुरा हेटौंडा आएपछि थाहा होला अनि भनौँला ।’ उनले भने ।

यसअघि बागमती प्रदेश सभा सदस्य एवम् एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल पनि माधव नेपालले नेतृत्व गरेको दलको केन्द्रीय सदस्य नियुक्त भइसकेकी छिन् ।

एमालेले पार्टी विभाजनसंगै आफ्नो दलको नेतृत्वमा सरकार टिकाइराख्न अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको अफर दिएको हो ।

बागमती प्रदेशमा नेकपा एमालेको ५६ सांसद छन् । जसमध्ये माधव नेपाल पक्षका २२ जना रहेका छन् । ती २२ जनामध्ये पनि १५ जनाभन्दा बढी राजेन्द्र पाण्डे निकट मानिन्छन् ।

यदि, एमालेले राजेन्द्र पाण्डेलाई आफ्नो क्याम्पमा सुरक्षित गर्न नसकेको अण्डमा मुख्यमन्त्री नियुक्त भएपनि अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्न कठिन हुने विश्लेषण गर्न लागिएको छ ।