माधव पक्ष आजै नयाँ दल दर्ता गर्ने तयारीमा

तु खबर संवाददाता
२०७८ भाद्र २, बुधबार १५:१४

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले बुधबार नयाँ दल दर्ता गर्ने तयारी गरेको छ ।

सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी अघि बढाएको हो ।

सोही विषयमा अहिले माधव नेपाल समूहका नेताहरु छलफलमा जुटिरहेको जनाइएको छ ।

माधव पक्षले अब दर्ता गर्न लागेको दलको नाम नेकपा एमाले समाजवादी रहेको र चुनाव चिन्ह खुला किताब प्रस्ताव गरी छलफल भइरहेको छ ।

लामो समयदेखि एमाले अध्यक्ष केपी ओली र माधव नेपालबीच विवाद बढ्दै गइरहेको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री छँदा पटक–पटक संसद विघटन गरेपछि माधव नेपाल पक्ष त्यसको विरोधमा सडकसम्म पुगेको थियो ।

ओली पक्षले माधव पक्षलाई आफ्नो पार्टीको सरकार ढालेर विपक्षीको क्याम्पमा गएको आरोप लगाउँदै आएका छन् । हालका प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव पक्षले विश्वासको मत दिएपछि त झन विवाद उत्कर्षमा पुगेको थियो ।

अध्यक्ष ओलीले माधव नेपाललाई एमालेमा कुनै स्थान भएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् भने नेपालले पनि अब हेपिएर नबस्ने बताउँदै आएका छन् ।