अमेरिका पठाइदिन्छु भन्दै ११ लाख ठगी गरेको आरोपमा कार्की पक्राउ
काठमाडौं । ‘अमेरिका पठाइदिन्छु’ भनेर ठगेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका घर भएका ५९ वर्षीय लाल बहादुर कार्की रहेका छन् । उनलाई झापा प्रहरीसँगको समन्वयमा अर्जुनधाराबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।
काठमाडौंको तीनकुने बस्ने कार्कीले पाँचथरका ध्रुव कुमार राईलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका पठाउँछु भनेर ११ लाख ५० हजार ठगी गरेका थिए ।
वैदेशिक रोजगार विभागले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेर प्रहरीलाई पत्राचार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
आरोपीलाई प्रहरीले वैदेशिक रोजगार विभागमा उपस्थित गराई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
