बागमती प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन, साताव्यापी कार्यक्रम सुरु
मकवानपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी बागमती प्रदेश युवा परिषद्को हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरस्थित कार्यालय उद्घाटन गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतितिसमेत रहेका मुख्यमन्त्री पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश युवा परिषद्ले युवाको हितका लागि उल्लेख्य काम गर्न सक्नुपर्ने र त्यसका लागि प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
उनले युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याउन परिषद्लाई सुझाव दिए । युवालाई स्वदेशमै रोजगार अवसर सृजना गर्नुपर्ने तथा उद्यमशील बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने उनको भनाई छ ।
त्यस्तै कार्यक्रमको विशेष अतिथि सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवा मुलुकको गहना भएको बताउँदै उनीहरुका लागि खेलकुद, शिक्षा, स्वास्थ्यको क्षेत्रमा परिषद्ले काम गर्नुपर्ने बताउँदै अब युवालाई रोजगारमुलक शिप सिकाउनुपर्ने बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, संविधानसभा सदस्य अनन्त पौडेल, प्रदेश सांसद जुनेलीमाया श्रेष्ठ लगायतले अन्र्तराष्ट्रिय युवा दिवसको शुभकामना दिएका थिए ।
कार्यक्रम बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौँलागाईको सभाध्यक्षतामा भएको हो ।
अन्तर्राष्ट्रिय युवा दिवसमा साताव्यापी कार्यक्रम
परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।
अगष्ट १२ अर्थात आज बाट युवा दिवस साताव्यापी कार्यक्रम आयोजना गरी मनाइने र त्यसको लागि ५१ सदस्यीय मुल आयोजक समिति बनाइएको जनाइएको छ ।
साताव्यापी कार्यक्रमको पहिलो दिन आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गरिएको छ ।
त्यस्तै साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिने, साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम आयोजना गरिने भएको जनाइएको छ ।
साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रबाट जोगाउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने, साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने, भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन र भदौ २ गते कार्यक्रम समापन गरिने जनाइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २०२० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।
