बैंकिङ कसुरमा ५० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार १५:४३
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ घर भर्इ हाल चन्द्रागिरी नगरपालिका–६ बस्‍दै आएका ३५ वर्षीय काशीराम भुसाल रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ साल माघ ४ गतेको फैसलाले भुसाललाई ५० लाख जरिवाना र १५ दिन कैद सुनाएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले भुसाललाई बुधबार काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरेको जनाएको छ ।

भुसालले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी–जानी झुक्यानमा पारी ग्लोबल आइएमइ बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ५० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

भुसाललाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुधबार पेश गरिएको ब्‍यूरो प्रहरीले जनाएको छ ।