मकवानपुरमा आज ८५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज थप ८५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २०५ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, आज ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा र १५६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जनामा गरी थप ८५ जनामा कोरोना पुष्टि भएको हो । आजको कोरोना संक्रमित दर ४१ प्रतिशत रहेको छ ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ७१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । यसैगरी संक्रमण पुष्टि हुनेमा थाहानगरपालिकाका ८ जना, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ३ जना र बकैया गाउँपालिकाका २ जना रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा यससँगै कोरोना संक्रमितको कूल संख्या १४ हजार २३ जना पुगेको छ । तीमध्ये हालसम्म १२ हजार ७ सय ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा हेटौँडाका ५७ जना, थाहानगरपालिकाका ८ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, कैलाश गाउँपालिकाका एक जना, मनहरी गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना रहेका छन् ।
यसैगरी, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४९ जना पुगेको छ । जिल्लामा आज थप १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १४९ जना पुगेको हो । आज मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका रहेका छन् ।
