मकवानपुरबाट २० दिनमा २१ लागूऔषध कारोबारी पक्राउ
मकवानपुर । चालु आर्थिक २०७८/०७९ को साउनयताका २० दिनमा मकवानपुरबाट २१ जना लागूऔषध कारोबारी तथा भरिया पक्राउ परेका छन् ।
मकवानपुर प्रहरीका अनुसार साउन १–२० गतेसम्म २ सय ८३ केजी गाँजा, ५ केजी चरेस, ६ ग्राम खैरोहिरोइनसहित २१ जना लागूऔषध कारोबारी तथा भरिया पक्राउ परेका हुन् ।
गत बुधबार मात्रै एक सय २७ केजी गाँजासहित २ जना भारतीय र एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।
उनका अनुसार, पूर्व–पश्चिम राजमार्गको मनहरी गाउँपालिका–८ सिमपानीमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकको खानतलासी गर्दा उक्त गाँजा फेला परेको हो ।
यसै अवधिमा मकवानपुर प्रहरीले लागूऔषधसम्बन्धी १३ वटा मुद्दा दर्तागरेको छ । गत आवमा जिल्लामा यस्ता ९९ वटा मुद्दा दर्ता भएका थिए भने १ सय ६२ जना कारोबारी पक्राउ परेका थिए । १ हजार ५ सय ६२ केजी गाँजा र २४ केजी चरेस बरामद भएको थियो ।
