लागूऔषधसहित हेटौँडाबाट दुई जना पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १५:१२

मकवानपुर । मकवानपुर प्रहरीले अबैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर १३ बस्ने १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गण्डकी हाउस रेष्टुरेन्टबाट लागुऔषध नाईट्रोभेट १ हजार १२५ ट्याब्लेटसहित मंगलवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रहरी निरीक्षकका अनुसार, उनीहरुलाई विशेष सूचना आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१० स्थित गेष्ट हाउसमा उनीहरुले बोकेको झोला चेकजाँच गर्दा उक्त परिणामको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।