चोरिएको मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरी गरेको मोटरसाइकलसहिच रामेछापका दीपेन्द्र भुजेल, ताप्लेजुङका विशेष लिम्बु र धनुषाका विकल थापालाई पक्राउ गरेको हो ।
भक्तपुरका वासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ मा हराएको मोटरसाइकल नम्बर परिवर्तन गरी उनीहरुले चलाएको अवस्थामा फेला परेपछि निजहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।
चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने महाशाखाले निगरानीका साथै सूचना संकलन तथा सादा पोशाकमा समेत टोली परिचालन गरी विशेष अभियान सञ्चालन गरिरहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
अर्को पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ को मोटरसाइकल पनि नम्बर परिवर्तन गरेको अवस्थामा भेटिएको थियो। मोटरसाकलसहित तीनैलाई थप अनुसन्धान एवं कानूनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमीमा बुझाइएको महाशाखाले जनाएको छ।
