मुख्यमन्त्री पौडेललाई म्याद दिइएकोबारे थाहा छैन– प्रमुख सचेतक निरौला

तु खबर संवाददाता
२०७८ श्रावण १५, शुक्रबार १८:४८

मकवानपुर । नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले प्रदेश सरकार परिवर्तनको विषयमा छलफल गर्न पार्टीभित्रकै सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेललाई म्याद दिएकोबारे आफुलाई थाहा नभएको बताएका छन् ।

पार्टी एकताको रक्षा र सरकार परिवर्तनको विषयमा आवश्यक छलफल भइरहेको भएपनि छलफलका लागि मुख्यमन्त्री पौडेललाई कसैले म्याद दिएको बारे आफुलाई थाहा नभएको उनले बताए ।

उनले सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर मन्त्रिपरिषद विस्तार र परिवर्तन गर्न सक्ने भएकाले यस विषयमा पार्टी नेतृत्वसंग छलफल जारी रहेको बताए ।
उनले भने ‘सरकार र मन्त्रिमण्डल पुनर्गठन सरकारको क्षेत्राधिकारभित्र रहेर हुन्छ, पार्टी नेतृत्वसंग त्यसविषयमा छलफल जारी छ छिट्टै नै यसको विषयमा आधिकारिक रुपमा जानकारी गराउछौँ ।’ उनले भने ।

विपक्षी दलहरुसंग छलफल गरेर प्रदेशसभा बैठक आह्वान गरिने उनको भनाई छ ।

मुख्यमन्त्री पौडेलले सरकार गठन भएदेखि करिब साढे ३ बर्ष सरकारको नेतृत्व गरेकाले अब बाँकी समय आफुहरुले नेतृत्व गर्न पाउनुपर्ने भन्दै माधव पक्षले प्रस्ताव राखेको छ ।

माधव पक्षले आफ्नो नेतृत्वमा सरकार गठन हुन नसके सरकार परिवर्तन निश्चित रहेको बताएको छ ।

बागमती प्रदेशमा कूल ११० जना सांसदमध्ये हाल १०९ जना रहेका छन् ।

जसमा नेकपा एमालेको ५७, नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, अन्य विपक्षी साना दलको ७ र एक जना स्वतन्त्र सांसद छन् ।