मकवानपुरका दुईसहित तीन जना प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार १६:१७
सांकेतिक तस्बिर

मकवानपुर । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्वर ६ फर्पिङबाट प्रहरीले जीवित कछुवासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सरिसृप पहेंलो रंगको जीवित कछुवासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा हुनेहरुमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय भुवन राई रहेका छन् ।

प्रहरीले अवैध रूपमा संरक्षित वन्यजन्तु ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूबाट मंगलबार सरिसृप पहेंलो रंगको जीवित कछुवासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाएको जनाएको छ ।