हेटौँडाका तामाङसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार १०:२०

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ स्थित पुर्व–पश्चिम लोकमार्गको २ नम्वर पुल नजिक जर्गा होटल अगाडिबाट प्रहरीले हात्तीको दारासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाहरुमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीका ३५ वर्षीय सुवास तामाङ, बाराको निजगढ नगरपालिका वडा नम्वर ११ रतनपुरका ३५ वर्षीय दिल बहादुर घलान र ३४ वर्षीय सुर्य प्रसाद तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरी टोलीले ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४४० ग्राम वजन भएको हात्तीको दारासहित पक्राउ गरेको हो ।

सोमबार हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५० प १२२७ नम्वरको कालो रातो रङको २२० सिसिको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्दा सो मोटरसार्इकलको पछाडी सवार सुर्य प्रसाद तामाङले पलाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिणामको हात्तीको दारा फेलापरेपछि निजहरुलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बरामद हात्तीको दारा र उनीहरुलाई नियन्त्रणमा लिई आवश्यका कारबाहीको लागि मंगलबार पर्सा राष्टिय निकुञ्ज कार्यालय आधाभार बारामा पठाइएको छ ।