११ महिनामा २२२ प्रतिशतले बढ्यो शेयर बजार

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार ०९:३१
file-photo

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैकले ११ महिनामा २२२ दशमलव ०२ प्रतिशत शेयर बजार वृद्धि गरेको देखिएको छ ।

वित्तिय विवरण अनुसार असार मसान्तमा १३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ जेठ मसान्तमा ३०२५.८ पुगेको छ ।

आर्थिक बर्ष २०७८ जेठ मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४२१६ अर्ब पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड रहेको थियो ।

आर्थिक बर्ष २०७८ जेठमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२० पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ५ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन्। आर्थिक बर्ष २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ जेठसम्ममा सूचीकृत ५ अर्ब ८२ करोड शेयरको चुक्ता मूल्य रु.५७२ अर्ब ९२ करोड रहेको छ । आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा रु.२ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, रु.४३ अर्ब ५८ करोड बराबरको बोनस शेयर, रु.४२ अर्ब १७ करोड बराबरको साधारण शेयर, रु.१७ अर्ब ५५ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ५२ करोड बराबरको हकप्रद शेयर र रु.४ अर्ब १० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.३ खर्ब ३२ अर्ब ८७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२० अर्ब ५४ करोड बराबरको डिबेन्चर, रु.१४ अर्ब ५ करोड बराबरको हकप्रद शेयर, रु.१३ अर्ब ५४ करोड बराबरको साधारण शेयर र रु.८ अर्ब ४० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.५६ अर्ब ५३ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*