१६९ किलो गाँजासहित दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्वपश्चिम लोकमार्ग सडकखण्ड अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट १६९ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत मोतिहारी बस्ने ३० वर्षीय रविन्द्र राय र सोही ठाउँ बस्ने ३१ वर्षीय मुक्तार सैफिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, बुधबार बिहान १० बजेर ४५ मिनेटको समयमा हेटौँडाबाट बारातर्फ जाँदै गरेको बिआर ०१ जीजी ९४९५ नम्वरको भरतीय ट्रकलाई रोकी चेकजाँच गर्दा सो गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिणामको गाँजा बराबद भएपछि गाडि चालक रविन्द्र राय र सहचालक मुक्तार सैफिक पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
