सांसद वैद्यविरुद्ध दर्ता भएको जाहेरीप्रति नेपाली कांग्रेस बागमती प्रदेशको ध्यानाकर्षण
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले आफ्नो पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहन सम्बन्धि जाहेरी दर्ता भएकोप्रति आपत्ती जनाएको छ ।
सोमबार नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य वैद्यविरुद्ध हत्या दुत्साहन सम्बन्धि जाहेरी दर्ता भएकोप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको बताएका हुन् ।
प्रदेशसभा सदस्य वैद्यले गत जेठ २८ गते प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै केही अभिव्यक्ति दिएका थिए ।
नेता बानियाँद्वारा जारी विज्ञप्तिमा प्रदेशसभा सदस्य वैद्यले दिएका उक्त अभिव्यक्ति नेपाली काँग्रेसको आदर्श, नीति र संसदीय अभ्यास र गरिमा विपरित भएको छ भनि थाहा हुनुसाथ आफ्नो अभिव्यक्ति फिर्ता लिनु भनिएकोमा वैद्यले गत जेठ २९ गते नै अभिव्यक्ति फिर्ता लिईसकेको जनाएको छ ।
उक्त विज्ञप्तिमा प्रदेशसभा सदस्य वैद्यले आफुले बोलेको अभिव्यक्ति फिर्ता लिई रेकर्डबाट हटाउन सभामुखलाई औपचारिक रुपमा अनुरोध गरेको र त्यसपछि तत्काल सभामुखले सोही बैठकबाट उक्त भनाई रेकर्डबाट हटाउन निर्देशन दिएकोमा सो अभिव्यक्ति रेकर्डबाट हटाइ सकेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यी सबै कुरा भैसकेको अवस्थामा यस दलका माननीय नरोत्तम वैद्य उपर राजनीतिक प्रतिशोधका आधारमा सरकारको दवाव र प्रभावमा जिल्ला प्रहरी कार्यलय मकवानपुरमा उहाँ उपर हत्या दुरुत्साहनमा २०७८ साल जेष्ठ ३० गते जाहेरी दर्ता भएको र सोप्रति नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको गम्भीर ध्यानार्कषण भएको छ ।’
‘नेपालको संविधानको धारा १८७ मा प्रदेशसभाको विशेष अधिकारको उपधारा १ मा यस संविधानको अधिनमा रही प्रदेश सभामा पुर्ण वाक स्वतन्त्रता हुनेछ । प्रदेशसभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर प्रदेशसभाको सदस्यलाई पकाउ गर्ने थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने संवैधानिक व्यवस्थाको पूर्णरुपमा बर्खिलाप वनियतपूर्ण तवरबाट जाहेरी दर्ता भएकोमा नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दल गम्भीर आपति प्रकट गर्दछ ’, जारी विज्ञप्तिमा उल्लेख छ ।
‘प्रदेशसभाको विशेषाधिकारको हनन् गर्दै प्रदेश सभाको मानहानी गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा छ । प्रहरी अनुसन्धान अधिकारी लगायत सरकारका कुनै पनि निकायलाई यसो गर्ने कानूनी अधिकार छैन साथै संवैधानिक मूल्य मान्यता र संसदीय अभ्यास माथी गम्भीर आघात पुर्याएको यस दलको ठहर छ । संवैधानिक व्यवस्था विधिका शासन र प्रचलित कानून विपरीत गरेको यस्तो कार्यको नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दल घोर भर्त्सना गर्दछ । आवश्यक परेमा यस्तो गैर संवैधानिक कार्यको नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सभामा शसक्त प्रतिवाद गर्नेछ’ विज्ञप्तिमा उल्लेख छ ।
