नरोत्तमले माफी मागे, डोरमणिलाई उन्मुक्ति
हेटौंडा । बागमती प्रदेशसभामा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै २०७८ जेठ २८ गते प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार हुने अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिलाई लिएर वैद्यको चौतर्फी आलोचना भएको छ । नेकपा एमालेले वैद्यलाई कारवाहीको माग गरेको छ भने वैद्य आवद्ध दल नेपाली काँग्रेसले पनि उनलाई आत्म आलोचना गर्न भनेको छ । सोही विषयलाई लिएर एमाले निकट विद्यार्थीहरुले आज विहान प्रदेशसभा भवन अगाडि प्रदर्शन पनि गरेका छन् ।
आज शनिबार बसेको प्रदेशसभा वैठकमा वैद्यले प्रधानमन्त्रीसँग जोडेर आफूले व्यक्त गरेको धारणाबारे पार्टीको निर्देशन अनुसार आत्म आलोचना पनि गरिसकेका छन् ।
मुख्यमन्त्री पौडेलले पनि राखेका थिए यस्तै धारणा
२०७६ पुस २७ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विवेकशील साझाका नेता रमेश पौड्यालप्रति संकेत गर्दै राखेको केही भनाइ पनि त्यसबेला निकै विवादित बनेका थिए । ‘नेकपा सचिवालयको निर्णय विरुद्ध आवाज उठाउने हैशियत कसको’ भन्दै उनले राखेका धारणा निकै विवादित भयो ।
विवेकशील र साझा अलगअलग भएपछि अदालतमा विचारराधीन मुद्दातर्फ संकेत गर्दै मुख्यमन्त्री पौडेलले , ‘अदालतले फैसला गरिसकेपछि सम्भवत उहाँ यो हैसियतले रोष्टममा उपस्थित हुन सक्नुहुन्छ कि सक्नुहुन्न आफ्नो ठाउँमा छ,भनेका थिए । उनले संसद नै नरहन सक्ने भनी दिएको धम्कीको चौतर्फी आलोचना भएको थियो ।
प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने प्रस्तावमाथि छलफलमा भाग लिँदै पौड्यालले राखेको धारणाप्रति लक्षित गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले यस्तो विवादित अभिव्यक्ति दिएका थिए ।
विवेकशीलले सो विषयमा विज्ञप्ति प्रकाशित गरी आफ्ना संसदीय दलका नेता रमेश पौड्यालको मन्तव्यलाई लक्षित गरी आइतबार मुख्यमन्त्री पौडेलले ‘सांसद नै नरहन सक्ने’ अभिव्यक्ति दिएको भन्दै भर्त्सना गरेको थियो ।
उतिबेला पौडेल यतिबेला वैद्य
आज शनिबार बसेको प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलको निर्देशनपछि प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आत्मा आलोचना गर्दै माफी मागेका छन् ।
तर, संसदीय मर्यादा विपरितको अभिव्यक्ति दिएका मुख्यमन्त्री पौडेलले कतै आत्मा आलोचित भएको थाहा पाइएन । आफ्नो पार्टीको निर्णयमाथि प्रश्न नउठाउन धम्कीसमेत दिइएको भन्दै त्यतिबेला पौडेलको अभिव्यक्ति संसदीय मर्यादा विपरित भएको आवाज उठेको थियो ।
त्यतिबेला मुख्यमन्त्री पौडेलको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउन माग गरिएको थियो ।
तर, मुख्यमन्त्री पौडेलको सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छैन । मुख्यमन्त्री पौडेलले माफी मागेको वा आत्म आलोचना गरेको थाहा पाइएको छैन ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सम्बन्धमा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशसभामा आफ्नो धारणा राखेका छन् ।
सदस्यहरुले आफ्नो धारणा राख्दा संसदीय मर्यादालाई ख्याल राख्न पौडेलले आग्रह गरेका छन् । उनले संसदीय मर्यादाको स्मरण गराएका छन् ।
सदस्यहरुले आफ्ना धारणा राख्दा संसदीय मर्यादाको ख्याल राख्नुपर्ने कुरामा कुनै विवाद छैन । सभ्यतापूर्वक पनि आफ्ना धारणा राख्न सकिन्छ ।
मुख्यमन्त्री पौडेलले आफूलाई पछाडी फर्किएर हेरेनन् । नत्र भने आफूले कायम राख्न नसकेको संसदीय मयार्दाले मुख्यमन्त्री पौडेललाई गिज्याइरहेको देख्ने थिए ।
