मौका मिले आफ्नै नेतृत्वमा सरकार बनाउने पक्षमा जसपा
मकवानपुर । जनता समाजवादी पार्टीको अध्यक्षद्वय उपेन्द्र यादव पक्ष र महत्थ ठाकुरबीच नया सहमति जुटेको छ । उनीहरुबीच तत्काल सरकारमा नजाले तर आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्था भएमा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको हो ।
यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भएपनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक थिए । प्रधानमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको ठाकुर पक्षले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसलाई पनि साथ दिएन ।
यही विवादका कारण पार्टीको कार्यकारिणी समिति बैठकसमेत बस्न सकेको थिएन । तर पछिल्लो तीन दिनयता सहमतिका लागि प्रयास तीव्र भएको थियो । ठाकुर र यादवबीच सम्वाद भएको थियो भने तत्कालीन राजपाबाट मनिष सुमन, मृगेन्द्र यादव तथा समाजवादी पार्टीबाट रेणु यादव, मोहम्मद इस्तियाक राई, प्रकाश सिंह र गंगानारायण श्रेष्ठ लगायतका नेताले दुई अध्यक्षलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए ।
त्यसक्रममा ठाकुर पक्ष तत्काल सरकारमा नजान सहमत भएको छ भने यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा निर्णयहरु नगर्ने भएको छ ।
अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् ।

