कोरोना नियन्त्रणका लागि प्रदेश सरकारसँग कांग्रेसको १० बुँदे माग
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशका नागरिकको स्वास्थ्यको क्षेत्रमा गम्भीर ढंगले काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहिबार विज्ञप्ति जारी गर्दै नेता बानियाँले सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको समयलाई पूर्ण रुपमा सदुपयोग गरी बढ्दो कोरोना संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध एवं राहतको व्यवस्था मिलाउन प्रदेश सरकारसँग जोडदार माग गरेका छन् ।
सरकारले कोरोना महामारीसहित सबै खाले महामारीका विरामीको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने तथा कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अस्पताल बेड, आइसियु बेड, अक्सिजन र भेन्टिलेटर लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षणलाई व्यापक बनाउनुपर्ने तथा कोरोना संक्रमण जोखिम न्युनिकरण अभियान स्वास्थ्यकर्र्मी र कर्मचारी प्रशासनको प्रयासबाट मात्रै सम्भव नहुने भएकाले जनप्रतिनिधिसंग सहकार्यका लागि संयन्त्र तयार पार्न बानियाँले आग्रह गरेका छन् ।
प्रदेशका विभिन्न नाकाहरुमा स्वास्थ जाँचका लागि हेल्थ डेस्क राखी परीक्षण गर्ने र शंकास्पदलाई होल्डिङ केन्द्रमा राख्ने व्यवस्था गर्नुको साथै प्रदेशका सबै स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न माग गरिएको छ ।
स्वास्थ्यकर्मी , सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई विमा एवं जोखिम भत्ता तत्काल कार्यान्वयन गर्नुपर्ने, बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्नुपर्ने, कोरोना जोखिम न्युनिकरणका लागि प्रदेशमा रहेको विपद व्यवस्थापन कोष र कोरोना रोकथाम, नियन्त्रण एवं उपचार कोषको तत्काल प्रभावकारी परिचालन गर्नुपर्ने, स्वास्थ्य सामग्री र खोप खरिदका क्रममा भएका अनियमितताबारे छानवीन गरी दोषीलाई कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गर्नुपर्ने, लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवतजावतलाई सहज गराइनुपर्ने, विदेश जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या बढाइनुपर्ने, लकडाउनका कारण दैनिक ज्याला गरी खाने श्रमिक वर्गलाई पौष्टिक आहारका लागि राहतको व्यवस्था मिलाइनुपर्ने र साना, घरेलु एवं स्वरोजगारमुलक व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइनुपर्ने विज्ञप्तिमा भनिएको छ ।
उनले आम नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्डको अवलम्वन गर्न आग्रह गर्दै प्रशासनलाई कडाइका साथ लागू भए नभएको अनुगमन गर्न आग्रह गरेका छन् ।
कोरोना संक्रमण जोखिम न्युनिकरणका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल संघीय, प्रदेश र स्थानीय सरकारसँग सहकार्यका लागि तत्पर रहेको अवगत गराउँदै उनले यस रोगबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।
