बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोक्यो
मकवानपुर । निर्वाचन आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।
आयोगले आगामी जेठ ६ गते हुने उक्त उपनिर्वाचनको लागि हेटौँडा उपमहानगरपालिका वडा–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगका प्रवक्ता श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदान स्थल तोकिएको जानकारी दिएका हुन् ।
जारी विज्ञप्तिमा उक्त मतदान स्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको उल्लेख छ ।
नेकपा माओवादी केन्द्रले रामबहादुर थापा बादल आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि उनको पद रिक्त भएको थियो।
