नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा

पत्रपत्रिका
२०७७ फाल्गुन ७, शुक्रबार ०९:००

काठमाडौं । नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ९६ दशमलव ४५ प्रतिशत पुगेको हो।

परिसूचकले २६ सय ३६ अंकको नयाँ कीर्तिमानी स्तर बनाएको छ। यस दिन ‘अन्तरदिवसीय’ व्यापारमा नेप्से २६ सय ४२ अंकसम्म पुगेको थियो। सोही क्रममा बजार पुँजीकरणको आकारमा पनि कीर्तिमानी स्तर तयार भएको हो।

बिहीबारकै अनुपातमा बजारको विस्तार जारी रहने हो भने चार दिनपछि नेप्सेको पुँजीकरण अर्थतन्त्रको आकारभन्दा ठूलो हुनेछ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान ‘मौद्रिक खुकुलोपना’लाई कम्तीमा ३ महिना लम्ब्याउने प्रतिबद्धता जनाएपछि सेयर बजार उकालो लागिरहेको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण ३६ खर्ब ३३ अर्ब २१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यो जीडीपीको साढे ९६ दशमलव ४५ प्रतिशत र कुल राष्ट्रिय आय (जीएनआई) को ९५ दशमलव २८ प्रतिशत हो। गत वर्ष नेपालको जीडीपी ३७ खर्ब ६७ अर्ब र जीएनआई ३८ खर्ब १३ अर्ब रुयैयाँ थियो।

यसअघि १२ साउन २०७३ मा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमान बनाउँदा सेयर बजारको पुँजीकरण अर्थतन्त्रको ९१ दशमलव ९२ प्रतिशतसम्म पुगेको थियो। त्यसपछि अर्थतन्त्रसँगको अनुपात लगातार घट्दो क्रममा रहे पनि बजार सूचकांक बढ्न थालेसँगै यस्तो अनुपात पनि उकालो लागेको हो। २०६० को साउनमा नेप्सेको बजार पुँजीकरण अर्थतन्त्रको ७ दशमलव १ प्रतिशतसम्म झरेको थियो।

सेयर बजारको पुँजीकरणलाई अर्थतन्त्रका दुबै सूचक अर्थात् जीडीपी र जीएनआईसँग तुलना गर्ने चलन छ। पछिल्लो समय यस अनुपातलाई जीएनआईसँग तुलना गर्न बढी उपयुक्त हुने विश्लेषण गरिन थालेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*