किसानलाई घाँसको विउ र मिल्क एनालाइजर मेसिन वितरण
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले किसानलाई घाँसको विउ देखि मिल्क एनालाइजर मेसिन समेत वितरण गरेको छ । कृषि तथा पशु विकासतर्फ नगरका सवै वडाहरुमा चालु आर्थिक वर्षको यस अवधिमा वर्षिम, जै घांसको वीउ वितरण गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।
हेटौंडा ११ को दुग्ध उत्पादक सहकारी संस्थालाई मिल्क एनालाइजर मेसिन उपलब्ध गराइएको छ । चालु आर्थिक वर्षको यस अवधिमा तोरीको वीउ र गहुंको वीउ, विभिन्न तरकारीको वीउ वितरण कार्यक्रम सम्पन्न भएको मेयर महतले वताए । यसैगरी संघीय तथा प्रदेश सरकारको सशर्त अनुदान तर्फको गाई, वंगुर र बाख्रा पकेट र आन्तरिक श्रोत तर्फको टनेल पोली हाउस निर्माण, गोठ तथा खोर निर्माण सुधार र कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तरगत कृषक समुह छनौटको काम सकिएको अब भने वितरण गरिने मेयर महतले वताए ।
कृषि वस्तु उत्पादनको बजारीकरणलाई व्यवस्थित गर्न प्रदेश सरकार र उपमहानगरपालिकाको लागत साझेदारीमा हेटौडा ११ स्थित थानाभ¥याङमा कृषि उपज प्रशोधन तथा थोक बजार केन्द्र स्थापनाका लागि प्रदेश सरकार मार्फत टेण्डर आव्हान भई प्रक्रिया अगाडी बढीसकेकोे छ ।
कृषि उपज उत्पादनलाई मूल्य श्रृंखला विकासमा जोड दिनका लागि फलफुल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनासंग सम्झौता भई २ स्थानहरुमा चालु आर्थिक वर्षकोे स्वीकृत कार्यक्रम नियमित संचालनमा रहेको छ । नगरको कृषि क्षेत्रको तथ्यांक संकलनका लागि कृषक सुचिकरण सम्बन्धि थप कार्य अगाडी बढाउने क्रममा रहेको उनले बताए ।
पशुहरुको निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम नियमित रुपमा संचालन भईरहेको छ । चालु आर्थिक वर्षको पुस सम्ममा व्यवसायिक कृषक समुहहरु नविकरण ७ वटा भएका छन् भने ३७ वटा नयां दर्ता भएको मेयर महतले बताए ।
पशुपन्छी फर्मतर्फ बंगुर फार्म ३ वटा, बाख्रा फार्म ४ वटा, गाई, भैंसी फार्म ३ वटा, कुखुरा फार्म ३ वटा र पशुपन्छी समूह २३ वटा दर्ता भएको उनले बताए ।
उपमहानगरपालिका क्षेत्रभित्र रासायनिक मल बिक्रेता छनौटको लागि सार्वजनिक सूचनाको माध्यमवाट २५ वटा सहकारीहरुलाई मल विक्रेताको अनुमति प्रदान गरी किसानहरुलाई वडा स्तरबाट नै कृषि मल उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
हेटौँडा सन्देश दैनिकले आज समाचार छापेको छ ।
