प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा बागमतीको विजयी सुरुवात
मकवानपुर । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले विजयी सुरुवात गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले जितका लागि दिएको ११२ रनको लक्ष्य बागमती प्रदेशले ३४ ओभर ४ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।
बागमतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४८ रनको योगदान गरे । ६६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै पारस खड्काले १७ रन बनाउदा इशान पाण्डेले १७ रनको योगदान गरे ।
बलिङतर्फ पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ३० ओभर ३ बलमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो ।
पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले २१/२१ रन बनाउँदा सुनील धमला र सुशल भुर्तेलले १७÷१७ रन बनाए ।
बलिङतर्फ वाग्मती प्रदेशका लागि नन्दन यादवले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक भण्डारीले पनि चार विकेट लिँदा रामनरेश गिरीले दुई विकेट लिए ।
