ओली चुनावमा, प्रचण्ड–नेपाल सडकमा

पत्रपत्रिका
२०७७ पुष १०, शुक्रबार ०८:४०
file-photo

काठमाडौं । स्थिर सरकार र एउटै कम्युनिस्ट केन्द्र बनाउने वाचासहित ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकता ३१ महिना पनि टिक्न सकेन। अन्ततः यही पुस ७ गते नेकपा दुई टुक्रा भयो। दुवै पक्ष नेकपाकै नाममा वैधानिकताको खोजी गरिरहेका छन्।

अर्कातिर एकअर्काविरुद्ध जुध्ने गरी कार्ययोजना बनाई अगाडि बढेका छन्। ओली पक्ष प्रतिनिधिसभा विघटनलाई स्वागत गर्दै निर्वाचनसँगै गाउँ तहसम्मै जान लागेको छ। दाहाल–नेपाल पक्ष भने प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा लिएर गाउँ तहसम्मै आन्दोलनमा जाने तयारीमा छ। दुवै पक्षका बिहीबार बसेका केन्द्रीय समिति बैठकले त्यहीअनुरूपका कार्ययोजना तय गरेका हुन्।

मुख्य एजेन्डा निर्वाचन
नेकपाको ओली पक्षले पार्टी पंक्तिलाई एकढिक्का बनाई निर्वाचनको मुख्य एजेन्डामा केन्द्रित गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले मुलुक निर्वाचन उन्मुख भइसकेको र वैशाखमा प्रतिनिधिसभा निर्वाचनको मितिसमेत तोकिएकाले संगठन विस्तार र निर्वाचन तयारीमा पूर्ण शक्तिका साथ परिचालन हुने निर्णय गरेको हो।

प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार पार्टीका सबै मातहत कमिटीहरू, जनवर्गीय र सरोकार संगठन, पार्टी सदस्य, जनप्रतिनिधि एवं सम्पूर्ण पार्टी पंक्तिलाई एकढिक्का भएर निर्वाचन तयारीको मुख्य एजेन्डामा केन्द्रित भई पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन बैठकले आह्वान गरेको छ। बैठकले प्रतिनिधिसभा विघटनलाई स्वागत गर्दै अब पार्टीलाई निर्वाचनमा परिचालन गर्नुपर्ने निर्णय लिएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*