प्रधानमन्त्रीको संसद विघटन गर्ने सिफारिस लोकतन्त्र मास्ने खेल : नेता बानियाँ
मकवानपुर । बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री ओलीले संसद विघठन गर्ने गरी राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष गरेको सिफारिस लोकतन्त्र मास्ने खेल भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आजको बोलाइएको मन्त्रीपरिषद्को आकस्मिक बैठकबाट संसद विघठन गर्ने र बैशाखमा निर्वाचन गर्ने प्रस्ताव गरेसँगै नेपाली काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बानियाँले यस्तो बताएका हुन् । लोकतन्त्र, विधिको शासन, स्थायी सरकार जनताको अपेक्षा हो, जनताको अपेक्षामाथि ओलीले घात गरेका छन्, बानियाँले तु खबरसँग भने ।
संसद पाँच वर्षसम्म रहने गरी संविधानले नै परिकल्पना गरेको स्पष्ट पार्दै नेता बानियाँले आफ्नो स्वार्थकेन्द्रीत भई प्रधानमन्त्रीले चालेको कदम नेपालको मौजुदा संविधान, त्यसका प्रस्तावना र भावना विपरित रहेको बताए । गणतन्त्रको सस्थागत विकास गरी जनअपेक्षा अनुसार सरकार चलाउनुपर्नेमा ओलीले घोर अलोकतन्त्रिक चरित्र देखाएको बानियाँले बताए ।
गणतन्त्रको रक्षा र विधिको शासनका लागि नेपाली काँग्रेस प्रतिवद्ध रहेको र त्यसका निम्ति अन्तिमसम्म दृढतापूर्वक लाग्ने बानियाँको भनाई छ । ओलीको सर्वसत्तावादविरुद्ध काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको स्मरण गर्दै बानियाँले ओलीको सर्वसत्तावादी चरित्र थप प्रमाणित भएको बताए । ‘नेपाली काँग्रेसले हिजो ओली सरकारको सर्वसत्तावादी चरित्रको विरुद्ध व्यापक आन्दोलन गरेको थियो र त्यो आज थप प्रमाणित भयो, बानियाँले भने ।
प्रधानमन्त्री ओलीको यो असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेस कडा संघर्षमा जाने समेत बानियाँले जानकारी दिए ।
