जनता काँग्रेससँग छ : सभापति शेरबहादुर देउवा
हेटौंडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले एकदलीय शासन व्यवस्था चलाएको आरोप लगाएका छन् । नेपाली काँग्रेस मकवानपुरले आज आयोजना गरेको सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा सभापति देउवाले सरकारले सर्वसत्तावाद लाद्न खोजेको बताएका हुन् ।
अहिले जनता काँग्रेससँग भएको स्पष्ट पार्दै सभापति देउवाले कोरोनाको समयमा सरकारले कुनै गतिलो काम गर्न नसकेको बताए । भ्रष्टाचार रोक्न कुनै भूमिका नखेलेको देउवाको भनाइ थियो । सरकारका कारण गणतन्त्रप्रति जनताको विस्तृष्णा बढेको देउवाको भनाइ छ ।
कोरोनाको संकटमा जनता परेका बेला जिम्मेवार भई यसको समाधानमा क्रियाशील हुन नसकेको बताए । सरकार यसमा जिम्मेवार भई प्रस्तुत हुन नसकेको देउवाको भनाइ थियो । भ्रष्टाचारमा सरकारले सहयोग पुर्याएको देउवाको आरोप थियो ।
यसअघि सभालाई सम्बोधन गर्दै काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले काँग्रेसले हरेक संकटमा नेतृत्व गरेको भन्दै यसपटकको संकटमा पनि काँग्रेसले नै नेतृत्व लिने बताएका छन् ।
