बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा वडाध्यक्ष पक्राउ
कैलाली । प्रहरीले बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई पक्राउ गरेको हो ।
१८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो । तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो ।
बलात्कार जस्तो जघन्य अपराध मिलापत्र गरेर गाउँमै लुकाउने भूमिकामा रहेको भन्दै वडाध्यक्ष साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीले सोही ठाउँका अन्य ३ जनालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामी रहेका छन् । उनीहरुलाई प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो ।
योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् ।
यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिइएको थियो ।
उनी दुवैले पीडित किशोरीलाई पीडकले नदिए आफूले १ तोला सुन दिने भन्दै तमसुक बनाएका थिए ।
बलात्कार घटनाका मुख्य आरोपित भनिएका सिगास–३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनको खोजीकार्य भइरहेको छ ।
