किसानको लागि किसान क्रेडिट कार्ड लागू हुने

काठमाडौं । किसानहरुका लागि किसान क्रेडिट कार्ड उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारको चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम किसानका लागि क्रेडिट कार्ड दिन लागिएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षको काम सम्पन्न भइसकेको छ ।
कार्ड छाप्न प्रक्रिया अघि बढाएको र कार्यविधि तयार भएपछि किसान क्रेडिट कार्ड वितरण प्रक्रिया अघि बढ्ने कृषि विकास बैंकका प्रवक्ता एवम् कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।
‘यदि कोभिडको महामारी नबढेको भए अहिलेसम्म कार्ड वितरण प्रक्रिया अघि बढी सक्ने थियो,’ उनले भने ‘हाम्रो तयारी अबको १ महिनामा किसानलाई सो कार्ड वितरण गर्ने हो ।’ यस सम्बन्धमा आवश्यक तयारी सम्पन्न भइसकेको छ । यदि, कोरोना संक्रमणले गर्दा कामकाज ठप्प नभइदिएको भए अहिलेसम्म किसानको हातमा कार्ड परिसक्ने थियो ।
किसानलाई वितरण गर्न लागिएको क्रेडिट कार्ड सर्वसाधारणले प्रयोग गरिरहेको एटीएम र भिसा कार्डकै आकारमा भएपनि क्यूआर कोडमा आधारित हुने हुनेछ । एटीएम बुथमा नचल्ने यो कार्डले सुरुवाती चरणमा कृषि विकास बैंकबाट लिएको ऋणको थप किस्ता झिक्न चेक बोकेर बैंकसम्म किसान धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछ ।
नेपाल राष्ट्र बैंकले पनि आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि जारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गर्ने भनिएको छ । कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा समेत उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैैंकले कृषि विकास बैंकलाई सुम्पेको छ ।