इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

तु खबर संवाददाता
२०८३ भाद्र ३०, मंगलवार १८:११

हेटौंडाबाट काठमाडौंका लागि छुटेको विद्युतीय सवारीसाधन (ईभी) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। यात्रुसहित आठ जना सवार रहेको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये एक जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको र बाँकी घाइतेलाई काठमाडौं लगिएको प्रहरीको भनाइ छ।

दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।