अब नयाँ सार्वजनिक सवारीसाधन दर्ता नहुने
सरकारले कुनै पनि नयाँ सवारीसाधन दर्ता नगर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागले बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको जनाएको छ ।
सबै प्रदेशका मन्त्रालय र स्थानीय सरकारहरुलाई पत्र पठाउँदै विभागले विद्युतीय सवारीसाधन समेत कुनै पनि सवारीसाधनको दर्ता नगर्न भनेको हो ।
सवारीको अत्याधिक चाँप र इन्धनको बढ्दो मूल्य लगायतका कारण असहज परिस्थिति आएको भन्दै विभागले यसको उचित व्यवसथापनका लागि दर्ता रोकिएको समेत जनाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात व्यवस्था विभागले यस्तो निर्णय गरेको हो । सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्धेश्य सरकारको छ, सोही कारण हाललाई अर्को निर्णय नभएसम्म सबै सार्वजनिक सवारीको दर्ता रोक्ने निर्णय गरिएको विभागले जानकारी दिएको छ ।
