पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जनाको लाइसेन्स निलम्बन

तु खबर संवाददाता
२०८३ बैशाख २७, आईतवार १३:३५

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरीले पटक–पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना सवारी चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा पत्राचार गरेको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले एउटै प्रकृतिको कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परिसकेका चालकहरूको लाइसेन्स निलम्बनका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनका अनुसार निरन्तर रूपमा ट्राफिक नियमको अवहेलना गर्ने प्रवृत्ति बढ्दै गएपछि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाइएको हो । ट्राफिक प्रहरीले यस्ता चालकलाई चेतावनीका बाबजुद पनि नियम उल्लङ्घन दोहोरिनु गम्भीर समस्या बनेको जनाएको छ ।